Tuesday, December 16, 2025

रेशम विरहीको उपन्यास ‘पार्श्वध्वनि’ बजारमा


काठमाडौं : आख्यानकार रेशम विरहीको नयाँ उपन्यास ‘पार्श्वध्वनि’ सार्वजनिक भएको छ । वि.सं. २०८२ पुष १ गते 'नयाँसडक फुटपाथ एकेडेमी'मा उपन्यासको संयुक्त रूपमा लोकार्पण गरिएको हो ।

कार्यक्रममा साहित्यकार शार्दूल भट्टराई, अविनाश श्रेष्ठ, राजव पुडासैनी, विमल निभा, श्यामल, मातृका पोखरेल, सीताराम उप्रेती, दीपक सापकोटा तथा लेखक स्वयंले उपन्यास लोकार्पण गरेका थिए ।

‘पार्श्वध्वनि’ आख्यानकार विरहीको १४औं कृति हो । उपन्यासमा सुदूर समयको चितवन, त्यहाँको सामाजिक परिवेश र असन्तुष्ट कम्युनिष्ट राजनीतिको छायालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । महानदी नारायणीको सूक्ष्म वर्णन र त्यस वरिपरि बाँचिरहेका मानिसहरूको जीवन–संघर्षलाई कथामा गहिराइका साथ समेटिएको छ ।

समाज, राजनीति र इतिहासको त्रिवेणीका रूपमा प्रस्तुत गरिएको उपन्यास प्रेम र राजनीतिको धारमा उभिएर लेखिएको लेखकले बताएका छन् । ‘पार्श्वध्वनि’ले विशेषगरी चितवनको वामपन्थी राजनीतिलाई केन्द्रमा राखेको छ ।

लेखन, अनुभव, चिन्तन र विचारले परिपक्व मानिने अग्रज लेखक रेशम विरहीका यसअघि निबन्ध, कविता तथा उपन्यास संग्रहहरू प्रकाशित भइसकेका छन् ।

000

https://madhyanhadaily.com बाट साभार 










Wednesday, August 20, 2025

पुण्य खरेललाई कसरी सम्झूँ ? - मातृका पोखरेल

म साहित्यकार रूद्र खरेलको सङ्गतमा पुग्दाखेरी पुण्य खरेलले काठमाण्डौ छोडिसक्नु भएको थियो । काका रूद्र खरेलको अविभावकत्वमा काठमाण्डौ बस्दा अर्थात् विद्यार्थी जीवनमा पुण्य खरेलले गर्नुभएका बालसुलभ चञ्चलताका प्रकरणहरू ( कैयौं हाँसो उठ्ने खालका ) खरेल परिवार र उहाँका समवयी साथीहरुबाट मैले थुप्रै पटक सुन्ने मौका पाएँ । प्रख्यात निबन्धकार रुद्र खरेलको जेठा दाजुको छोरो अर्थात भतिजो हुनुहुन्थ्यो पुण्य खरेल । पुण्य खरेलले उच्चशिक्षा काका रुद्र खरेलको अविभावकत्वमा काठमाण्डौंमैं भएको रहेछ ।

इन्द्रेणी सांस्कृतिक समाजको केन्द्रीय कार्यसमिति, 'वेदना' साहित्यिक त्रैमासिकको सम्पादक समूहमा रूद्र खरेलसँग लामै समय काम गरेपछि म बागबजारको डेराबाट वि.सं . २०५३ सालमा उहाँको घर कोटेश्वरमा डेरा लिन पुगेँ । उहाँको घर मेरा लागि पारिवारिक वातावरणले सम्पन्न थियो । त्यसपछि मात्र पुण्य खरेलसँग मेरो चिनजान हुन पाएको हो । म कोटेश्वर पुग्दा उहाँले काठमाण्डु छाडिसक्नु भए पनि बेलाबेलामा उहाँ काठमाण्डु आइरहनु हुन्थ्यो र मैले त्यही मौकामा उहाँसँग भेटघाट, छलफल गर्ने र उहाँको प्रतिभा बुझ्ने मौका पाएँ ।
पुण्य खरेल

पुण्य खरेलको सिर्जनात्मक परिचय पाउँदा मैले उहाँलाई पहिलोपटक कविको रूपमा चिनेँ । समालोचकको रूपमा धेरै पछिमात्र । शिशिरको नामबाट कविता लेख्नुहुन्थ्यो । काव्यिक चेतनाबाट परिचित कवि हुनुहुन्थ्यो । इलाममा बस्दा उहाँ र उहाँका अन्य साथीहरू मिलेर चलाएको एकलाइने कविताको अभियानको तरङ्ग काठमाण्डौंसम्म सुन्न थालिएको थियो । पछिल्लो समय उहाँको कविव्यक्तित्व ओझेलमा पऱ्यो । समालोचकीय व्यक्तित्व अघिल्तिर आयो । उहाँकै कैयौं साथीहरुलाई उहाँको कवि व्यक्तित्वबारे जानकारी नभएको पनि मैले पाएको छु । मूल्याङ्कन गर्दा उहाँको कविव्यक्तित्वलाई प्राथमिकताभन्दा बाहिर राख्नु हुँदैन भन्ने मलाई लाग्छ । त्यसो गरियो भने उहाँको सिर्जनात्मक योगदानको सही मूल्याङ्कन हुँदैन ।

उहाँसँगको एउटा प्रसङ्गमा मुछिएको सम्झना छ मेरो । त्यसबेला पुण्य खरेल  समालोचकका रूपमा परिचित भइसकेको समय थियो । 

उहाँको  'गरिमा’ पत्रिकाको फागुन अङ्क (२०६७) मा एउटा समालोचना छापिएको थियो -    'अनुहारहरुको सेरोफेरोमा मातृका पोखरेलको काव्यप्रवृत्ति’ भन्ने शिर्षकमा । पछि त्यो समालाेचना  उहाँको कृति 'विचार र विश्लेषण' मा पनि छापियो । गरिमामा लेख पठाउँदा उहाँले ‘कवि मातृका पोखरेलका काव्यप्रवृत्तिहरु : ‘अनुहारहरु’ को सेरोफेरोमा’ भनी पठाउनु भएको रहेछ । शीर्षक नयाँ नाममा रूपान्तरण भए पछि पुण्य खरेल आगो हुनुभयो ।  'सोझोसिधा र स्पष्ट अर्थ लाग्ने शीर्षकलाई अनेकार्थी बनाएर अस्पष्टतामा पुर्‍याएको छ र  सङ्गतिगत, त्रुटिसमेत थपिदिएर मानक लेख्दा नेपाली भाषासमेतलाई होच्याएको छ ।' भन्ने गरिमाप्रति उहाँको ठुलो आरोप थियो । उहाँले  त्यसको  खण्डन गर्दै गरिमामा प्रकाशनार्थ एउटा आक्रामक आरोपपत्र  पठाउनु भयो । शीर्षक पनि अलिक कडा र आक्रोशपूर्ण थियो । 'साझा प्रकाशन कि फासिस्ट सेन्सर बोर्ड ?' भन्ने थियो । उहाँले गरिमामा खण्डनका लागि यो  सामग्री साझा प्रकाशनका तत्कालिन संचालक समिति सदस्य एवम् साहित्यकार  हरिगोविन्द लुईंटेल मार्फत् पठाउनुभएको रहेछ । मलाई त्यो खण्डनपत्र आइपुगेको जानकारी साझा प्रकाशनका साथीहरू मार्फत् भयो । पुण्य खरेलले त्यो खण्डन नछाप्ने हो भने मुद्धा हाल्छु भनेर भन्नुभएछ । उहाँले लेखेको सामग्री गरिमाले छाप्न सजिलो पनि थिएन । उहाँको खण्डनपत्र अलिक कडा थियो । उहाँलाई तपाईंले सम्झाइदिनु पऱ्यो भनेर साहित्यकार हरिगोविन्द लुईंटेलले मलाई भन्नुभयो । उहाँको स्वभाव मलाई पनि थाहा थियो  । त्यो खण्डनपत्र पठाएको जानकारी पुण्य खरेलले मलाई गराउनु भएको पनि थिएन  । मलाई उहाँलाई सम्झाउन पनि सजिलो  लागिरहेको थिएन । तर पछि त्यो प्रसङ्ग विस्तारै हराएर गयो ।

उहाँ वारम्बार मलाई झक्झक्याइरहनु हुन्थ्यो - 'तपाईं सेतो दरबारको छेउबाट' भन्दा 'यात्राको एउटा दृश्य'मा आइपुग्दा अलिकति बिग्रनु भयो । 'यात्राको एउटा दृश्य' भन्दा 'अनुहारहरू' मा आइपुग्दा अलिक धेरै बिग्रनु भयो । उहाँको आलोचनाप्रति मेरा आफ्नै धारणा थिए । जहिले पनि मलाई उहाँ झस्काइरहनुहुन्थ्यो । एकअर्थमा सचेत पनि गराइरहनु हुन्थ्यो । उहाँको चाहना मलाई प्रगतिवादी विचारबाट विचलित नहोस् भन्ने नै थियो । उहाँले मलाई बारम्बार यसरी सजग गराउनु हुन्थ्यो । गरिमामा प्रकाशित उहाँको समालोचना 'अनुहारहरुको सेरोफेरोमा मातृका पोखरेलको काव्यप्रवृत्ति’ भन्ने लेखमा राम्रैसँग सङ्केत गर्नुभएको छ ।

आफ्ना लेखन मार्फत पुण्य खरेलले साहित्यलाई जीवन, समय र समाजसँग जोड्ने प्रयत्न गर्नुभयो । साहित्यकार पुण्य खरेलले नेपाली साहित्यमा अझ धेरै गर्न बाँकी नै थियो । प्रगतिशील / प्रगतिवादी साहित्यको समालोचना गरेर नक्कलीलाई  नक्कली र सक्कलीलाई सक्कली भनेर पाठकहरूलाई भ्रमबाट मुक्त गराउन उहाँजस्तो समालोचकको झन् धेरै खाँचो थियो । उहाँसँग त्यो काम गर्न सक्ने सामर्थ्य थियो । जुन काम पुण्य खरेलले गरिरहनु भएको थियो । प्रतिबद्ध र उद्देश्यपूर्ण समालोचनाको क्षेत्रबाट हेर्ने हो भने उहाँको निधन अपुरणीय हो । जसको अभाव प्रगतिवादी आन्दोलनमा  लामै समयसम्म खड्किरहने छ । उहाँले उहाँका कृतिहरू मार्फत्  दिनुभएको विचार नयाँ पुस्ताका लागि लामो समयसम्म मार्गदर्शक बनेर रहने छन् ।


000











Monday, February 17, 2025

Meeting between Devkota Lu Xun Academy and Confucius Institute ( Kathmandu University)


Devkota-Lu Xun Academy and Confucius Institute (Kathmandu University) had a cordial meeting today at the office of the Academy. The topic of the discussion was to work jointly to popularise Devkota in China and Lu Xun in Nepal. Similarly, both of the organisations decided to work to come into Cooperation in other related and useful areas like literature and culture in each other's countries. The members present from the Academy were Chairman Sunil Kumar Poudyal, Vice Chairman Matrika Pokharel,Vice Chairman Subash Shrestha Treasurer Krishna Prasai, Members Dr. Srijana Upreti, Sirjana Sharma. The delegates from Prof. Dr. Li Shuangcheng- Director, CIKU, Qiu Guangmin, Coordinator, CIKU, Ms. Zhang Hongwei, Lecturer - CIKU, Ms. Wang Liyan, Lecturer - CIKU.

000