Friday, April 10, 2026

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव


नेपाली साहित्य र वाङ्मयको क्षेत्रमा क्रियाशील अग्रणी संस्था जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा आफ्नो ४२औँ वार्षिकोत्सव भव्य रूपमा मनाइएको थियो । बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा साहित्य, कला र समाजसेवाका विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टाहरूलाई नगदसहित सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

समारोहमा विभिन्न विधाका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान अन्तर्गत प्रा.डा. चूडामणि बन्धु (पाल्पा) लाई नगद रु. १०,०००/- सहित खादा, प्रमाणपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । त्यसैगरी कमलराज–जनमत दर्शन साहित्य सम्मान अन्तर्गत मोहनविक्रम सिंह (प्युठान) लाई नगद रु. २५,०००/- सहित सम्मान गरिएको थियो ।

त्यसैगरी जनमत–सिद्धि धर्म/संस्कृति सम्मान अन्तर्गत प्रा.डा. वीणा पौड्याल (ललितपुर) लाई नगद रु. १०,०००/-, विश्वशान्ति–जनमत प्रवासी लेखक सम्मान अन्तर्गत डा. कविता लामा (दार्जिलिङ) लाई नगद रु. २५,०००/-, जनमत–जनक प्रधान सेवा सम्मान अन्तर्गत नन्दकृष्ण जोशी (बझाङ) लाई नगद रु. १०,०००/-, जनमत–दीपक कायस्थ स्वास्थ्य सम्मान अन्तर्गत प्रा.डा. सविना श्रेष्ठ (ललितपुर) लाई नगद रु. १०,०००/-, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान अन्तर्गत डा. बलराम अधिकारी (गोरखा) लाई नगद रु. १०,०००/-, जनमत–ज्ञानरत्न/मङ्गलतारा राष्ट्रिय सम्मान अन्तर्गत जगदीश ओझा (बैतडी) लाई नगद रु. १०,०००/- तथा शान्तिकिरण–जनमत फरक क्षमता सम्मान अन्तर्गत डा. गोविन्दप्रसाद आचार्य (अर्घाखाँची) लाई नगद रु. २५,०००/- सहित सम्मान गरिएको थियो ।

कृति सार्वजनिक समारोहअन्तर्गत प्रा. कपिल अज्ञातको गजलसङ्ग्रह ‘मनका तराना’ लोकार्पण गरिएको थियो, जसमा डा. कृष्ण सुवेदीद्वारा संक्षिप्त टिप्पणी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा भारतको उत्तर बङ्गबन्धु विश्वविद्यालयका प्रा. सञ्जय राई, डा. अरुणा राई, प्रा.डा. प्रकाशराज रेग्मी, वरिस्ठ साहित्यकार मातृका पोखरेल, वरिष्ठ पत्रकार शेषराज शिवाकोटी लगायतका व्यक्तित्वहरूको विशिष्ट आतिथ्य रहेको थियो ।

साहित्यिक वाचनअन्तर्गत सम्मानित प्रतिभाहरूका तर्फबाट प्रा.डा. चूडामणि बन्धु, नन्दकृष्ण जोशी र लक्ष्मी मालीद्वारा मन्तव्य तथा रचना वाचन गरिएको थियो ।

कार्यक्रमको सञ्चालन राजु सरकारद्वारा गरिएको थियो भने स्वागत मन्तव्य तथा संस्थाको अभियानबारे जानकारी मोहन दुवालद्वारा प्रस्तुत गरिएको थियो । सम्मानित प्रतिभाहरूको सम्मानपत्र प्रतिष्ठानका उपाध्यक्ष प्रेम श्रेष्ठ र सदस्य भगवती तिमल्सिनाद्वारा वाचन गरिएको थियो । कार्यक्रमको समापनमा सचिव सिर्जना दुवालद्वारा धन्यवाद ज्ञापन गरिएको थियो ।

००० 































Tuesday, December 16, 2025

रेशम विरहीको उपन्यास ‘पार्श्वध्वनि’ बजारमा


काठमाडौं : आख्यानकार रेशम विरहीको नयाँ उपन्यास ‘पार्श्वध्वनि’ सार्वजनिक भएको छ । वि.सं. २०८२ पुष १ गते 'नयाँसडक फुटपाथ एकेडेमी'मा उपन्यासको संयुक्त रूपमा लोकार्पण गरिएको हो ।

कार्यक्रममा साहित्यकार शार्दूल भट्टराई, अविनाश श्रेष्ठ, राजव पुडासैनी, विमल निभा, श्यामल, मातृका पोखरेल, सीताराम उप्रेती, दीपक सापकोटा तथा लेखक स्वयंले उपन्यास लोकार्पण गरेका थिए ।

‘पार्श्वध्वनि’ आख्यानकार विरहीको १४औं कृति हो । उपन्यासमा सुदूर समयको चितवन, त्यहाँको सामाजिक परिवेश र असन्तुष्ट कम्युनिष्ट राजनीतिको छायालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । महानदी नारायणीको सूक्ष्म वर्णन र त्यस वरिपरि बाँचिरहेका मानिसहरूको जीवन–संघर्षलाई कथामा गहिराइका साथ समेटिएको छ ।

समाज, राजनीति र इतिहासको त्रिवेणीका रूपमा प्रस्तुत गरिएको उपन्यास प्रेम र राजनीतिको धारमा उभिएर लेखिएको लेखकले बताएका छन् । ‘पार्श्वध्वनि’ले विशेषगरी चितवनको वामपन्थी राजनीतिलाई केन्द्रमा राखेको छ ।

लेखन, अनुभव, चिन्तन र विचारले परिपक्व मानिने अग्रज लेखक रेशम विरहीका यसअघि निबन्ध, कविता तथा उपन्यास संग्रहहरू प्रकाशित भइसकेका छन् ।

000

https://madhyanhadaily.com बाट साभार 










Wednesday, August 20, 2025

पुण्य खरेललाई कसरी सम्झूँ ? - मातृका पोखरेल

म साहित्यकार रूद्र खरेलको सङ्गतमा पुग्दाखेरी पुण्य खरेलले काठमाण्डौ छोडिसक्नु भएको थियो । काका रूद्र खरेलको अविभावकत्वमा काठमाण्डौ बस्दा अर्थात् विद्यार्थी जीवनमा पुण्य खरेलले गर्नुभएका बालसुलभ चञ्चलताका प्रकरणहरू ( कैयौं हाँसो उठ्ने खालका ) खरेल परिवार र उहाँका समवयी साथीहरुबाट मैले थुप्रै पटक सुन्ने मौका पाएँ । प्रख्यात निबन्धकार रुद्र खरेलको जेठा दाजुको छोरो अर्थात भतिजो हुनुहुन्थ्यो पुण्य खरेल । पुण्य खरेलले उच्चशिक्षा काका रुद्र खरेलको अविभावकत्वमा काठमाण्डौंमैं भएको रहेछ ।

इन्द्रेणी सांस्कृतिक समाजको केन्द्रीय कार्यसमिति, 'वेदना' साहित्यिक त्रैमासिकको सम्पादक समूहमा रूद्र खरेलसँग लामै समय काम गरेपछि म बागबजारको डेराबाट वि.सं . २०५३ सालमा उहाँको घर कोटेश्वरमा डेरा लिन पुगेँ । उहाँको घर मेरा लागि पारिवारिक वातावरणले सम्पन्न थियो । त्यसपछि मात्र पुण्य खरेलसँग मेरो चिनजान हुन पाएको हो । म कोटेश्वर पुग्दा उहाँले काठमाण्डु छाडिसक्नु भए पनि बेलाबेलामा उहाँ काठमाण्डु आइरहनु हुन्थ्यो र मैले त्यही मौकामा उहाँसँग भेटघाट, छलफल गर्ने र उहाँको प्रतिभा बुझ्ने मौका पाएँ ।
पुण्य खरेल

पुण्य खरेलको सिर्जनात्मक परिचय पाउँदा मैले उहाँलाई पहिलोपटक कविको रूपमा चिनेँ । समालोचकको रूपमा धेरै पछिमात्र । शिशिरको नामबाट कविता लेख्नुहुन्थ्यो । काव्यिक चेतनाबाट परिचित कवि हुनुहुन्थ्यो । इलाममा बस्दा उहाँ र उहाँका अन्य साथीहरू मिलेर चलाएको एकलाइने कविताको अभियानको तरङ्ग काठमाण्डौंसम्म सुन्न थालिएको थियो । पछिल्लो समय उहाँको कविव्यक्तित्व ओझेलमा पऱ्यो । समालोचकीय व्यक्तित्व अघिल्तिर आयो । उहाँकै कैयौं साथीहरुलाई उहाँको कवि व्यक्तित्वबारे जानकारी नभएको पनि मैले पाएको छु । मूल्याङ्कन गर्दा उहाँको कविव्यक्तित्वलाई प्राथमिकताभन्दा बाहिर राख्नु हुँदैन भन्ने मलाई लाग्छ । त्यसो गरियो भने उहाँको सिर्जनात्मक योगदानको सही मूल्याङ्कन हुँदैन ।

उहाँसँगको एउटा प्रसङ्गमा मुछिएको सम्झना छ मेरो । त्यसबेला पुण्य खरेल  समालोचकका रूपमा परिचित भइसकेको समय थियो । 

उहाँको  'गरिमा’ पत्रिकाको फागुन अङ्क (२०६७) मा एउटा समालोचना छापिएको थियो -    'अनुहारहरुको सेरोफेरोमा मातृका पोखरेलको काव्यप्रवृत्ति’ भन्ने शिर्षकमा । पछि त्यो समालाेचना  उहाँको कृति 'विचार र विश्लेषण' मा पनि छापियो । गरिमामा लेख पठाउँदा उहाँले ‘कवि मातृका पोखरेलका काव्यप्रवृत्तिहरु : ‘अनुहारहरु’ को सेरोफेरोमा’ भनी पठाउनु भएको रहेछ । शीर्षक नयाँ नाममा रूपान्तरण भए पछि पुण्य खरेल आगो हुनुभयो ।  'सोझोसिधा र स्पष्ट अर्थ लाग्ने शीर्षकलाई अनेकार्थी बनाएर अस्पष्टतामा पुर्‍याएको छ र  सङ्गतिगत, त्रुटिसमेत थपिदिएर मानक लेख्दा नेपाली भाषासमेतलाई होच्याएको छ ।' भन्ने गरिमाप्रति उहाँको ठुलो आरोप थियो । उहाँले  त्यसको  खण्डन गर्दै गरिमामा प्रकाशनार्थ एउटा आक्रामक आरोपपत्र  पठाउनु भयो । शीर्षक पनि अलिक कडा र आक्रोशपूर्ण थियो । 'साझा प्रकाशन कि फासिस्ट सेन्सर बोर्ड ?' भन्ने थियो । उहाँले गरिमामा खण्डनका लागि यो  सामग्री साझा प्रकाशनका तत्कालिन संचालक समिति सदस्य एवम् साहित्यकार  हरिगोविन्द लुईंटेल मार्फत् पठाउनुभएको रहेछ । मलाई त्यो खण्डनपत्र आइपुगेको जानकारी साझा प्रकाशनका साथीहरू मार्फत् भयो । पुण्य खरेलले त्यो खण्डन नछाप्ने हो भने मुद्धा हाल्छु भनेर भन्नुभएछ । उहाँले लेखेको सामग्री गरिमाले छाप्न सजिलो पनि थिएन । उहाँको खण्डनपत्र अलिक कडा थियो । उहाँलाई तपाईंले सम्झाइदिनु पऱ्यो भनेर साहित्यकार हरिगोविन्द लुईंटेलले मलाई भन्नुभयो । उहाँको स्वभाव मलाई पनि थाहा थियो  । त्यो खण्डनपत्र पठाएको जानकारी पुण्य खरेलले मलाई गराउनु भएको पनि थिएन  । मलाई उहाँलाई सम्झाउन पनि सजिलो  लागिरहेको थिएन । तर पछि त्यो प्रसङ्ग विस्तारै हराएर गयो ।

उहाँ वारम्बार मलाई झक्झक्याइरहनु हुन्थ्यो - 'तपाईं सेतो दरबारको छेउबाट' भन्दा 'यात्राको एउटा दृश्य'मा आइपुग्दा अलिकति बिग्रनु भयो । 'यात्राको एउटा दृश्य' भन्दा 'अनुहारहरू' मा आइपुग्दा अलिक धेरै बिग्रनु भयो । उहाँको आलोचनाप्रति मेरा आफ्नै धारणा थिए । जहिले पनि मलाई उहाँ झस्काइरहनुहुन्थ्यो । एकअर्थमा सचेत पनि गराइरहनु हुन्थ्यो । उहाँको चाहना मलाई प्रगतिवादी विचारबाट विचलित नहोस् भन्ने नै थियो । उहाँले मलाई बारम्बार यसरी सजग गराउनु हुन्थ्यो । गरिमामा प्रकाशित उहाँको समालोचना 'अनुहारहरुको सेरोफेरोमा मातृका पोखरेलको काव्यप्रवृत्ति’ भन्ने लेखमा राम्रैसँग सङ्केत गर्नुभएको छ ।

आफ्ना लेखन मार्फत पुण्य खरेलले साहित्यलाई जीवन, समय र समाजसँग जोड्ने प्रयत्न गर्नुभयो । साहित्यकार पुण्य खरेलले नेपाली साहित्यमा अझ धेरै गर्न बाँकी नै थियो । प्रगतिशील / प्रगतिवादी साहित्यको समालोचना गरेर नक्कलीलाई  नक्कली र सक्कलीलाई सक्कली भनेर पाठकहरूलाई भ्रमबाट मुक्त गराउन उहाँजस्तो समालोचकको झन् धेरै खाँचो थियो । उहाँसँग त्यो काम गर्न सक्ने सामर्थ्य थियो । जुन काम पुण्य खरेलले गरिरहनु भएको थियो । प्रतिबद्ध र उद्देश्यपूर्ण समालोचनाको क्षेत्रबाट हेर्ने हो भने उहाँको निधन अपुरणीय हो । जसको अभाव प्रगतिवादी आन्दोलनमा  लामै समयसम्म खड्किरहने छ । उहाँले उहाँका कृतिहरू मार्फत्  दिनुभएको विचार नयाँ पुस्ताका लागि लामो समयसम्म मार्गदर्शक बनेर रहने छन् ।


000